इरानमाथि आक्रमणपछि अमेरिकालाई दोहोरो नोक्सानी

इरानमाथि आक्रमणपछि अमेरिकालाई दोहोरो नोक्सानी



काठमाडौं । अमेरिकाको राष्ट्रिय ऋण बुधबार ३९ ट्रिलियन डलरको कीर्तिमानीस्तर पार भएको छ । अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको केही हप्तामै यो आँकडा सार्वजनिक भएको हो ।

यो आँकडाले प्रशासनका चुनौतीपूर्ण प्राथमिकतालाई उजागर गरेको छ । यसमा ठूलोस्तरमा कर कानुन पारित, रक्षा खर्च र आप्रवासन प्रवर्तनलाई विस्तार गर्ने तथा स्वयं ऋण घटाउनेजस्ता विषय समावेश छन् ।

सरकारी जवाफदेही कार्यालयले बढ्दो ऋणले अमेरिकी नागरिकमा पार्ने प्रभावलाई औँल्याएको छ । यसमा घर र कारजस्ता वस्तु खरिदका निम्ति ऋण लिँदा उच्च लागत तिर्नुपर्ने, व्यवसायमा लगानीका लागि उपलब्ध पुँजी घट्दा ज्यालामा कटौती हुन सक्ने तथा वस्तु र सेवा महँगो बन्नेजस्ता प्रभाव समावेश छन् ।

सन्तुलित बजेटका पक्षधरले अत्यधिक ऋण लिने र ब्याज भुक्तानी गर्ने दीर्घकालीन प्रवृत्तिले भविष्यमा अमेरिकीलाई कठिन वित्तीय निर्णय गर्न बाध्य बनाउने चेतावनी पनि दिएका छन् ।

पिटर जी पिटरसन फाउन्डेसनका अध्यक्ष तथा सीईओ माइकल पिटरसनले एक विज्ञप्तिमा भनेका छन्, “हामीले ऋण वृद्धिको यो चिन्ताजनक दर र आगामी पुस्तामा पर्ने गम्भीर वित्तीय बोझलाई गम्भीरतापूर्वक लिनुपर्छ ।”

उनले थपे, “वर्तमान गतिमा हेर्दा हामी यसै वर्षको चुनावअघि नै राष्ट्रिय ऋण ४० ट्रिलियन डलरको आश्चर्यजनक स्तरमा पुग्नेछौँ । कुनै स्पष्ट योजनाबिना यति तीव्र गतिमा खर्बौं डलर ऋण लिनु अस्थिरताको परिभाषा हो ।”

ह्वाइटहाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटका अनुसार, इरान युद्धमा हालसम्म १२ अर्ब डलरभन्दा बढी खर्च भइसकेको अनुमान छ । यो युद्ध कहिले अन्त्य हुन्छ भन्ने अझै स्पष्ट छैन ।

संघीय ऋण रिपब्लिकन र डेमोर्क्र्याटिक दुवै राष्ट्रपतिको कार्यकालमा बढ्दै आएको छ । हालका युद्ध, महामारीका बेला गरिएको ठूलो खर्च र कर कटौतीले यसलाई थप तीव्र बनाएको छ ।

अमेरिकी राष्ट्रिय ऋण पाँच महिनाअघि ३८ ट्रिलियन डलर पुगेको थियो । त्यसको दुई महिनाअघि ३७ ट्रिलियन डलर थियो ।