काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो ।
पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपाली पक्राउ परेको बताएका हुन् ।
होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएकाे थियाे । साेहि क्रममा उनी पनि परेका हुन् । पक्राउ परेकाे विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए ।
द्वन्द्वग्रस्त क्षेत्र मध्यपूर्वबाटमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारले उच्च सतर्कता अपनाएको छ ।
हालसम्म नेपाल फर्किनका लागि सरकारको अनलाइन दर्ता प्रणालीमा ८२ हजार १०० जना नेपाली नागरिकहरू आबद्ध भइसकेका छन् ।
यस द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई)मा एक जना नेपाली नागरिकको दुःखद निधन भएको थियो । त्यस्तै, विभिन्न घटनामा परी २० जना नेपालीहरू सामान्य घाइते भएका छन् ।
जसमध्ये १९ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने बाँकी एक जनाको अवस्था पनि सामान्य रहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज हुने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले द्वन्द्वको समयमा स्थानीय कानुनको उल्लंघन हुने गरी फोटो वा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सेयर गर्ने कार्य नगर्न कडा चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न भएको आरोपमा हालसम्म ७ जना नेपालीहरू पक्राउ परेका छन् ।
स्थानीय कानुन अनुसार यस्तो कसुर गर्नेलाई एक वर्षसम्म कैद सजाय र त्यसपछि देश निकाला गरिने प्रावधान रहेकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि कुटनीतिक पहल जारी राखेको छ ।


प्रतिक्रिया