मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु : रक्षा बम

मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु : रक्षा बम


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पुनः प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफू र आफूजस्ता युवाहरूमाथि लागेका गम्भीर आरोपहरूको जवाफ प्रतिवेदन सार्वजनिक गरेर दिन माग गरेकी हुन् ।

जेन जेड आन्दोलनका घाइतेका परिवारले माइतीघर पुगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आयोगको प्रतिवेदन सार्वजनिक गर्न फेरि आग्रह गरेकी हुन् ।

‘कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् । त्यो तपाईंको जिम्मेवारी हो,’ बमले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘न्याय पर्खिरहेका आँखाहरू तपाईंतिरै फर्किएका छन् । इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ ।’

आन्दोलनकर्मी बमले प्रतिवेदन पढेर आफूले आफ्नो हातमा रगत लागे–नलागेको जान्न चाहेको पनि उल्लेख गरेकी छन् । ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु ।’

बमले आफूहरूको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्नुको कारण पनि प्रतिवेदनमार्फत खोजेकी छन् । ‘म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ?,’ उनले भनेकी छन्, ‘गोली चलाउने आदेश कसले दियो ? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?’

उनले माइतीघरको दुर्व्यवहारबारे पनि प्रधानमन्त्री कार्कीलाई जानकारी दिन खोजेकी छन् । ‘यो त मेरो दैनिकी जस्तै भइसकेको छ । ममाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ मैले बारम्बार दिइसकेकी छु,’ बमले भनेकी छन्, ‘तर, अब त्यतिले मात्रै पुगेन, प्रधानमन्त्रीज्यू । अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ ।’