वासिङ्टन डीसी । अमेरिकाका एक वरिष्ठ डेमोक्रेटिक सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा नियन्त्रण गुमाएको आरोप लगाएका छन् । ट्रम्प अहिले आतङ्कित अवस्थामा रहेको दाबी गर्दै सांसद क्रिस मर्फीले युद्ध सञ्चालनको शैलीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिका प्रभावशाली सदस्य मर्फीले अमेरिका र इजरायलले संयुक्त रूपमा सञ्चालन गरिरहेको सैन्य कारबाही चौथो सातामा प्रवेश गर्दा यसप्रति आलोचना बढ्दै गएको समेत बताएका छन् । उनका अनुसार यो युद्धले अपेक्षित नतिजा दिन नसकेको मात्र होइन, यसको असर अमेरिकाको आन्तरिक अर्थतन्त्रमा समेत पर्न थालेको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै यदि स्टेट अफ हर्मुज पुनः सञ्चालन नगरे इरानका ऊर्जा पूर्वाधार पूर्ण रूपमा ध्वस्त पार्ने धम्की दिएका थिए । मर्फीले यस सैन्य कारबाहीलाई ट्रम्पको पागल युद्ध भनेर टिप्पणी गर्दै इन्धन मूल्यमा आएको तीव्र वृद्धिका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न थालेको बताएका छन् ।
युद्ध लम्बिँदै जाँदा अमेरिकी राजनीतिमा पनि विभाजन गहिरिँदै गएको छ, जहाँ विपक्षीहरूले प्रशासनको रणनीतिमाथि निरन्तर प्रश्न उठाइरहेका छन् ।


प्रतिक्रिया