गण्डकी । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख सहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ । होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहनेछ ।
विगत २२ वर्षदेखि सञ्चालन भैराखेको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलाम लगायतका सहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम आयोजना हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मीसहितको १९ सदस्यीय टोलीले अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिने उनले बताए ।
उक्त क्रममा आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिने उनले जानकारी दिए । “सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका लागि पूर्वी नेपालका स्थानीयलाई निम्तो दिनुपनि हाम्रो कार्यक्रमको उद्देश्य हो”, उनले भने । महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा लेकसाइड क्षेत्रमा सञ्चालन हुनेछ ।
नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव गरिँदै आइएको छ । पोखरा पर्यटनको राजधानी रहेको र यस सहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यस अभियानले महत्वपूर्ण सहयोग पुर्याउने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
कार्यक्रमका अवसरमा पूर्वी नेपाल र पोखराबीचको पर्यटकीय साझेदारी बढाउने लक्ष्य राखिएको छ । विगतमा पोखराबाट भद्रपुर र विराटनगरलगायत सहरसम्म सञ्चालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती सहरबाट पोखरासम्मस्तरीय पर्यटक बस सेवा सञ्चालनका लागिसमेत पूर्वका पर्यटन व्यवसायीसँग सहकार्यको प्रस्ताव राखिनेछ ।
पोखराको होटेल क्षेत्रमा मात्रै छ खर्बको लगानी भएको बताउँदै अध्यक्ष सुवेदीले यहाँ करिब एक हजार २०० को सङ्ख्यामा होटेल रहेको जानकारी दिए । पोखरामा सञ्चालित होटेलका कारण करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको सङ्घले जनाएको छ ।


प्रतिक्रिया