काठमाडौं । अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि जारी युद्धको असरले प्रभावित हुँदै आएको विश्व बजारमा सोमबार साँझ ठूलो राहतको संकेत देखिको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनेर सोसल मिडियामा गरेको एक पोस्टले युद्ध रोकिने आशमात्र देखाएन, विश्व अर्थतन्त्रमा झिनो आशाको किरण देखिएको छ । यद्यपि इरानले अमेरिकासँग सम्वादमा नरहेको जवाफ दिइसकेको छ ।
यसअघि अस्ति आइतबार भाउ बढेर एक सय १३ डलर प्रतिब्यारेलसम्म पुगेको ब्रेन्ट क्रुड अर्थात् कच्चा तेलको भाउ हिजो ट्रम्पको घोषणापछि घटेर ९६ डलर प्रतिब्यारेलमा झरेको बीबीसीले जनाएको छ ।
वार्ता रचनात्मक भइरहेको ट्रम्पको प्रतिक्रियापछि ९६ डलर प्रतिब्यारेलको न्यूनतम स्तरमा झरेर त्यसपछि थोरै मात्रै बढेको छ । त्यस्तै अमेरिका र युरोपमा शेयर बजारमा सुधार आएको खबरमा उल्लेख छ । मध्यपूर्वमा चलिरहेको द्वन्द्वलाई पूर्ण समाधान निकाल्नेगरी अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा निकै राम्रो र फलदायी वार्ता भइरहेको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा उल्लेख गरेका छन् ।
साथै उनले कम्तिमा ५ दिनसम्म इरानका ऊर्जा पूर्वाधारमा कुनै आक्रमण नगर्न अमेरिकी सेनालाई निर्देशन पनि दिएका छन् । तर इरानी पक्षले अमेरिकासँग अहिलेसम्म कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको जनाएको छ । अमेरिका र इजरायलले पछिल्लो आक्रमण शुरु गरेयता इरानले होर्मुज मार्ग अवरुद्ध गरेको छ ।
विश्वव्यापी तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ढुवानी हुने होर्मुज मार्गमा अवरोधसँगै सीमित पानीजहाजलाई मात्र अनुमति दिइएको छ ।


प्रतिक्रिया