काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जवाफदेहीतालाई ध्यानमा राख्दै पदबाट राजीनामा दिएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले पार्टीको विधान अनुसार आफूले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएको प्रष्टीकरण दिए ।
‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणामको जिम्मेवारी लिएर पार्टीको विधानको व्यवस्थाअनुसार उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ सभापति थापाले भने, ‘सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने विधानमा व्यवस्था छ । यसमाथि छलफल पनि भइसकेको छ ।’
आफ्नो राजीनामा कुनै दबाब र ग्लानीको विषय नभएको थापाले बताए । थापाले विशेष महाधिवेशन गरेर कमजोरी गर्यौँ कि भन्ने कुरामा अलमलिएर आफू राजीनामाको निर्णयमा नपुगेको जिकिर गरे ।
‘विशेष महाधिवेशन गरेर कहिँकतै कमजोरी गर्यौँ कि भन्ने कुराको बारेमा एक निमेष पनि अलमलिएर यो निर्णयमा पुगेको थिइनँ,’ थापाले भने, ‘कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको थिइनँ ।’


प्रतिक्रिया