इरान वार्ताको योजना अझै स्पष्ट भइसकेकाे छैन : ह्वाइट हाउस

इरान वार्ताको योजना अझै स्पष्ट भइसकेकाे छैन : ह्वाइट हाउस



काठमाडौं । अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसले इरान वार्ताको योजना अझै अस्पष्ट रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी संसद्का सभामुखले मध्यपूर्वमा चलिरहेको युद्ध अन्त्य गर्न दुई पक्षबीच वार्ता भएको विषयमा परस्पर बाझिने टिप्पणी गरेपछि ह्वाइट हाउसको यो समाचार सार्वजनिक भएको हो ।

यसअघि ट्रम्पले दुई देशबीच शत्रुता पूर्णतः समाधान गर्न मध्यपूर्वमा कुराकानी भइरहेको बताएका थिए । ट्रम्पले इरानसँग फलदायी छलफल भएको भन्दै इरानी ऊर्जा पूर्वाधारमाथि हुन सक्ने आक्रमण पाँच दिनका निम्ति स्थगित गरिएको सामाजिक सञ्जालमार्फत जनाएका थिए ।

तर इरानी संसद्का सभामुख मुहम्मद–बागेर गलिबाफले यो दाबीको खण्डन गर्दै त्यसलाई भ्रामक समाचारको सङ्ज्ञा दिएका थिए ।

यसैबीच इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले मध्यस्थकर्ताहरूमार्फत अमेरिकाबाट वार्ताका लागि केही मुद्दाहरू प्राप्त गरेको र तिनीहरूको समीक्षा भइरहेको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई भनेका छन् ।

अमेरिकी राष्ट्रपतिले इरानमाथि आक्रमण स्थगित गर्दै चाँडै शान्ति सम्झौता हुन सक्ने बताएपछि हिजो विश्व बजारमा कच्चा तेलको मूल्य घटेको थियो । तर पछि ब्रेन्ट क्रूड तेलको मूल्य बढेर प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।

आज बिहान एशियामा ब्रेन्ट क्रुडको मूल्य ३ दशमलव ७५ प्रतिशतले बढेर १०३ दशमलव ६९ अमेरिकी डलर पुगेको थियो । मध्यपूर्वमा अहिले पनि तनाव चलिरहेको छ । इरान र इजरायलले एकअर्काविरुद्ध आक्रमण गरिरहेका खबरमा उल्लेख छ ।