बिहीबारबाट एसईई, जापानमा समेत परीक्षा केन्द्र

बिहीबारबाट एसईई, जापानमा समेत परीक्षा केन्द्र


ग्लोब नेपाल
0
Shares

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) ६ दिनपछि सुरु हुँदै छ । परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सामेल हुँदै छन्। परीक्षामा २ लाख ५७ हजार ५ सय २७ छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र छन्। परीक्षामा छात्राको संख्या बढी छ । चैत १९ बाट सुरु हुने परीक्षामा १ हजार ९ सय ६६ परीक्षा केन्द्र कायम गरिएको छ ।

गतवर्ष जापानको एकसमेत गरी २ हजार ८० केन्द्र कायम गरिएको थियो । गतवर्षको तुलनामा यो वर्ष १ सय १४ केन्द्र घटेको छ । गतवर्ष ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी थिए, यो वर्ष ४ हजार घटेर करिब ५ लाख १० हजार परीक्षार्थीले परीक्षा दिँदै छन् ।

परीक्षामा करिब ३० हजार सुरक्षाकर्मीसहित ७५ हजार कर्मचारी परिचालन गर्ने तयारी छ । सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रश्नपत्रहरू केन्द्र नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जनक शिक्षामा छापिएको प्रश्नपत्र उतैबाट ढुवानी गरिएको जानकारी दिएका छन् ।

परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षामा फरक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर थप डेढ घण्टा समय थप गरिएको छ । फाराम भरेका ५ लाख ९ हजार ९ सय ६१ विद्यार्थीमा नियमिततर्फका ४ लाख ४६ हजार ५ सय ७६ र ग्रेडवृद्धितर्फका ६३ हजार ४ सय ८५ रहेको नियन्त्रक अधिकारीले जानकारी दिए ।

एसईई दिने विद्यार्थीका लागि जापानमा एक परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बोर्डका अनुसार जापानको एभरेस्ट विद्यालयबाट यो वर्ष २३ विद्यार्थीले एसईई दिँदै छन्। परीक्षा नियन्त्रक अधिकारीले डर, त्रास र भयरहित वातावरणमा परीक्षा हुने जानकारी दिए । परीक्षा नियन्त्रक अधिकारीले विद्यार्थीलाई कुनै पनि दबाब नदिन आग्रह गरेका छन् ।