नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई एनआरएनएको बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई एनआरएनएको बधाई


ग्लोब नेपाल
567
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नवनियुक्त प्रधानमन्त्री बालेन शाह लाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्ष डा. हेमराज शर्मा ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिले नयाँ सोच, ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको बताएका छन्।

विज्ञप्तिमा उल्लेख गरिएको छ कि शाहको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारको रूपमा योगदान पुर्‍याउने अपेक्षा राखिएको छ। विशेष गरी, विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाइनेमा संघ विश्वस्त रहेको छ।

साथै, विज्ञप्तिमा सरकारको नेतृत्वले सुशासन, भ्रष्टाचारमुक्त पारदर्शिता र दिगो विकासतर्फ राष्ट्रलाई अग्रसर बनाउनेमा एनआरएनए विश्वस्त रहेको जनाइएको छ। जनताको अभूतपूर्व जनादेशसहित यहाँको नेतृत्वले विगतका परम्परागत अभ्यास तोड्दै विश्व इतिहासमै नयाँ पुस्तालाई शासनको जिम्मेवारी सुम्पिएको उल्लेखनीय उदाहरण प्रस्तुत गरेको पनि बताइएको छ।

अन्तमा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा ७६ (१) अनुसार नेपालको सम्मानीय प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा श्री बालेन शाहज्यू लाई गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै, उनको कार्यकाल सफल, प्रभावकारी तथा ऐतिहासिक हुने शुभकामना व्यक्त गरिएको छ।