काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइ गर्न माग गर्दै एमाले सडकमा उत्रिएको छ ।
अध्यक्ष ओली पक्राउ परेसँगै एमालेका भ्रातृ सङ्गठनहरू र समर्थकहरू राजधानीलगायत देशभरका प्रमुख सहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन् । अध्यक्ष ओलीलाई गुण्डुस्थित निवासबाट शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ओली पक्राउ परे लगत्तै काठमाडौँको भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय च्यासलसहित देशभरका विभिन्न स्थानमा एमाले निकटका युवा सङ्घ र अनेरास्ववियुका कार्यकर्ताहरू ठुलो संख्यामा भेला भएका छन् । प्रदर्शनकारीहरूले सरकार विरोधी नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय अगाडि टायर बालेर सडक अवरुद्ध गरिएको छ भने जेन–जी प्रदर्शनको अनुसन्धान गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ प्रतिवेदन जलाएर विरोध गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।


प्रतिक्रिया