पूर्णबहादुर खड्कालाई कारबाही गर्नेबारे संस्थापन कांग्रेस पदाधिकारीबीच छलफल

पूर्णबहादुर खड्कालाई कारबाही गर्नेबारे संस्थापन कांग्रेस पदाधिकारीबीच छलफल


ग्लोब नेपाल
810
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा पार्टीभित्र छलफल सुरु भएको छ ।

शनिबार पदाधिकारीहरूबीच भएको अनौपचारिक छलफलमा खड्काले औपचारिक जिम्मेवारी नपाएको अवस्थामा कार्यवाहक सभापति भन्दै विज्ञप्ति निकालेको विषय उठाइएको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि कांग्रेसभित्र दुई धारबाट छुट्टाछुट्टै प्रतिक्रिया आएको थियो । पार्टीका प्रवक्ता देवराज चालिसे र नेता खड्काले बेग्लाबेग्लै विज्ञप्ति जारी गरेका थिए ।

जेनजी आन्दोलनका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री रहेका थिए । सो घटनामा गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

खड्काले संस्थापनइतर समूहसँगको छलफलपछि ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेपछि भने पार्टीभित्र विवाद चर्किएको हो । केही पदाधिकारीहरूले ‘हुँदै नभएको कार्यवाहक हैसियत’ प्रयोग गरिएको भन्दै सभापति गगन थापा र उपसभापतिहरू विश्वप्रकाश शर्मा तथा पुष्पा भुसालको ध्यानाकर्षण गराएका छन् ।

पार्टीभित्रका केही नेताहरूले खड्कामाथि कारबाहीको प्रस्तावसमेत अघि सारेका छन् । यद्यपि शीर्ष नेतृत्व तत्काल कारबाही गर्ने पक्षमा भने देखिएको छैन ।