इनिशा विक हत्या प्रकरणः चारै किशोरलाई पर्पक्षका लागि बालसुधार गृह पठाउन आदेश

इनिशा विक हत्या प्रकरणः चारै किशोरलाई पर्पक्षका लागि बालसुधार गृह पठाउन आदेश


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न चारै जना किशोरलाई पर्पक्षका लागि बालसुधार गृह पठाउन जिल्ला अदालत सुर्खेतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार थुनछेक बहस सकिएपछि मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म चारै जनालाई बाँकेको खजुरास्थित बालसुधार गृहमा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए ।

सोमबारदेखि सुरु भएको थुनछेक बहस मंगलबार अबेर सकिएको थियो । अदालतले अभियुक्तहरू नाबालिग भएकाले मुद्दाको किनारा नलाग्दासम्म सुधार गृहमा राख्ने निर्णय गरेको हो ।

अदालतले घटनामा संलग्नमध्ये मुख्य अभियुक्तबाहेक अन्य किशोरहरू एसइई परीक्षामा सहभागी हुने अवस्थालाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापन गर्न तथा पीडित परिवारसहित अन्य व्यक्तिको सुरक्षाको प्रबन्ध मिलाउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

गत फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्केकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमर्टम रिपोर्टअनुसार बलात्कारपछि यौनांगमा गम्भीर चोट लाग्दा अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको देखिएको छ ।

घटनापछि इनिशाका अभिभावकले चारै जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको आरोपसहित किटानी जाहेरी दिएका थिए । सोही आधारमा सरकारी वकिल कार्यालयले पनि सामूहिक बलात्कारका कारण मृत्यु भएको दाबी गर्दै अभियोगपत्र दर्ता गरेको थियो ।

तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतले चैत ११ गते पेश गरेको अनुसन्धान प्रतिवेदनमा भने उक्त घटना सामूहिक नभएको निष्कर्ष निकालेको थियो । प्रहरीका अनुसार घटनामा एक जनाको मात्र प्रत्यक्ष संलग्नता रहेको उल्लेख गरिएको छ ।

प्रहरीले मुख्य अभियुक्त भनिएका किशोरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैदको मागदाबी गरेको छ भने अन्य तीन जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहजंग बुढथापाका अनुसार घटनासम्बन्धी थप प्रक्रिया जारी रहेकै अवस्थामा इनिशाको शव अझै कर्णाली प्रदेश अस्पताल सुर्खेतमै राखिएको छ ।

उक्त मुद्दामा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधिवक्ता आरती चपाइँ र पुष्पा चालिसेले बहस गरेका थिए । यस्तै जाहेरीवालाका तर्फबाट अधिवक्ताहरू गोविन्दराम परियार, राजेन्द्र भारती, मंगलसेन सार्की, भूमिप्रसाद सापकोटा, ईश्वरभक्त सुनार तथा प्रोबोनो कानुन व्यवसायी यमकुमारी दलेलले बहस गरेका थिए ।

अभियुक्त किशोरहरूको तर्फबाट अधिवक्ताहरू शंकर पौडेल, अनिलबहादुर शाही, उत्तमप्रसाद आचार्य, विवशकुमार बस्नेत, खगेन्द्रबहादुर खनाल र नारायण योगीले पैरवी गरेका थिए ।