सभामुखमा डिपी अर्याल निश्चित, उपसभामुख को ?

सभामुखमा डिपी अर्याल निश्चित, उपसभामुख को ?



काठमाडौँ । संसद् बैठक प्रारम्भ भएसँगै सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभामुखमा उपसभापति डोलप्रसाद (डीपी) अर्यालको नाम करिब-करिब टुङ्गो लागिसकेको छ । राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका र संवैधानिक प्रक्रिया बुझेको अनुभवी व्यक्ति भएकाले अर्यालको विकल्प नभएको रास्वपाका एक पदाधिकारीले बताए ।

सभामुख निर्वाचन यही चैत २२ गते हुनेछ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया बुधबार तय गरेको हो। मनोनयन दर्ताको २० गते ताेकिएको छ।

उपसभामुख कुन दललाई दिने भन्ने विषयमा छलफल नभएको उनले स्पष्ट पारे । संसदको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनमा सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुख फरक लिङ्ग र दलबाट हुनुपर्ने व्यवस्था छ ।

उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीको नाम सामाजिक सञ्जालमा चर्चामा ल्याइएको छ । तर संसदको अघिल्लो कार्यकालमा पार्टी नेतृत्वको प्रतिरक्षा गरेको, निर्वाचन गराउन सकारात्मक भूमिका खेलेको, एजेण्डाको हिसाबले पनि नजिक रहेको दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रहेको छ । सोही दललाई उपसभामुख पद दिन रास्वपाको कतिपय नेता सकारात्मक देखिएका छन् । नेकपालाई उपसभामुख दिँदा संविधान संशोधनमा समन्वयकारी भूमिका खेल्न सहज हुने उनीहरूको बुझाइ छ ।

यदि नेकपालाई उपसभामुख दिन रास्वपा सहमत भयो भने उसले सम्भवतः बलावती शर्मालाई अगाडि सार्नेछ । अर्याललाई सभामुखमा अगाडि सारेपछि उपसभामुखका लागि महिला नै चाहिन्छ । नेकपामा ४ जना महिला सांसद छन् । शर्मालगायत भीमकुमारी बुढा, पार्वती विक र निराशा चौधरी हुन् । यसमध्ये उपसभामुखको भूमिका निर्वाह गर्न योग्य शर्मा हुन् । उनी नेकपा नेता देवेन्द्र पौडेलकी श्रीमतिसमेत हुन् ।