काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
जनकपुरमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनले हरायो । जनकपुरमा बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णालीले २५ ओभर १ बलमा १२० रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका निश्चल रावलले ३१, दिनेश अधिकारीले २२ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले ७ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ३८ ओभर ४ बलमा १८० रन बनाउँदा सबै विकेट गुमायो । बागमतीका विवेक मगरले ५६ रन बनाए । कर्णालीका दिवान पुनले ३ विकेट लिए । प्रतियोगितामा बागमतीको यो दोस्रो जीत हो ।
बागमती ५ खेलमा ४ अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा ३ अङ्कसहित नवौँ स्थानमा छ ।
यस्तै वीरगञ्जमा भएको खेलमा लुम्बिनीले एपीएफ क्लबलाई ‘सुपर ओभर’ मा ८ रनले हरायो । ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको लुम्बिनीले १ विकेट गुमाएर १४ रन बनायो । १५ रनको लक्ष्य पछ्याएको एपीएफले १ विकेट गुमाएर ६ रनमात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ३९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२४ रन बनायो । एपीएफका अभिषेक गौतमले २८ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए ।
एपीएफले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३४ ओभरमा सबै विकेट गुमाएर १२४ रनमा समेटियो । लुम्बिनीका कप्तान देव खनालले ४५ रन बनाए । एपीएफका कप्तान रोहित पौडेलले ३ विकेट लिए ।
यो जीतसँगै लुम्बिनी ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । एपीएफ ५ खेलमा ३ अङ्कसहित सातौँ स्थानमा छ ।


प्रतिक्रिया