काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनबारे गम्भीर विमर्शको माग समेत गरेका छन् ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न १६ बुँदे मागहरु अघि सारेका हुन् ।
उनका १६ बुँदे मागहरुः
१. शुभकामना तथा प्रस्तावना
सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा उहाँको सम्पूर्ण मन्त्रिपरिषद्लाई कार्य सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
आज यस संसदको रोष्ट्रममा उभिँदा, झन्डै साढे तीन वर्षअघिको त्यो क्षण स्मरण भइरहेको छ। त्यतिबेला पनि यहाँ उभिएर तत्कालीन सरकारलाई जनताप्रति उत्तरदायी बन्न, विधिको शासनको पूर्ण पालना गर्न, र बहुमतको अहङ्कार नगर्न सचेत गराएका थियौं किनकि बहुमत क्षणिक हुन्छ—केही दिनको न्यानो मात्रै हो, स्थायी सत्य होइन।
तर दुर्भाग्यवश, त्यो सरकारले जनताको आवाज सुनेन। परिणामस्वरूप केवल सरकार ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो। भौतिक संरचनाहरू दिनदहाडै जले, सिंहदरबार जले, संसद भवनसमेत आगलागीको चपेटामा पर्यो। आज हामी बाध्य भएर एउटा बैठक कक्षलाई संसद भवन मानेर कार्य सञ्चालन गरिरहेका छौं।
यसबीच झन्डै ७६ जना युवाहरूले राष्ट्रका लागि आफ्नो अमूल्य जीवन बलिदान गरे, २५०० भन्दा बढी नागरिक घाइते भए, र राष्ट्रसेवक प्रहरीसमेत क्रूरतापूर्वक हत्या गरिए।
२. वर्तमान सरकारप्रति अपेक्षा
यस्ता पीडादायी घटनाका बाबजुद जनताको मतबाट स्थापित वर्तमान सरकार जनताको हितमा समर्पित होस्, विगतका कमजोरीहरू नदोहोर्याओस् भन्ने अपेक्षा राख्दछु।
जनताको आवाज सुन्ने, विधिको शासनमा आधारित, कानुनसम्मत तथा प्रजातान्त्रिक मूल्य–मान्यतामा अडिएको शासन सञ्चालन होस्—यही मेरो हार्दिक शुभकामना हो।
यो सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको दियो बनोस्। त्यो दियो जोगाइ राख्नु हामी सबैको दायित्व हो।
तर, त्यो दियो कहिल्यै डढेलोमा परिणत नहोस्। यदि त्यो दियो डढेलो बन्न खोज्छ भने, त्यसलाई नियन्त्रण गर्ने र निभाउने साहस पनि हामीसँग हुनुपर्छ।
३. सुशासन र भ्रष्टाचार नियन्त्रण
नेपालमा धेरै सरकार परिवर्तन भए, धेरै व्यवस्था फेरिए, तर जनताको अवस्था जस्ताको तस्तै रह्यो।
अब वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्दै विगतका सबै भ्रष्टाचार काण्डहरूको फाइल खोल्नेछ भन्नेमा पूर्ण विश्वास छ।
लाउडा काण्डदेखि विमान खरिद प्रकरण, सहकारी घोटालादेखि अन्य ठूला काण्डसम्मका दोषीहरूलाई कानुनी कठघरामा उभ्याइनेछ भन्नेमा म आशावादी छु।
सडक किनारामा मकै पोलर, साग बेचेर, पसिना र रगत बगाएर सङ्कलन गरिएको सहकारी रकम हडपे भ्रष्टाचारीहरूलाई कानुनको कठघरामा उभ्याइनेछ र पीडितको रकम फिर्ता गरिनेछ भन्ने दृढ विश्वास राख्दछु।
४. न्याय र सुरक्षा
निर्मला पन्तदेखि इन्सा बिकसम्मका निर्दोष दिदीबहिनीहरूको परिवारले न्याय पाउनेछन् भन्नेमा म पूर्ण आशावादी छु।
५. रोजगारी र युवा
आज युवाहरू प्लस टु पास गर्नेबित्तिकै आफ्नो जीवनयापनका लागि विदेशिन बाध्य छन्। यो हरेक घरको पीडा बनेको छ।
झन्डै ८० लाखभन्दा बढी नेपाली युवाहरू विदेशमा श्रम गर्न बाध्य छन् र तिनको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ।
यो सरकारले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूलाई आफ्नै भूमिमा भविष्य देख्ने वातावरण बनाउनेछ भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु।
६. नागरिकता र राष्ट्रियता
“एकपटक नेपाली, सधैं नेपाली” भन्ने भावनालाई आत्मसात् गर्दै संविधान संशोधनमार्फत नेपालीहरूको हक–अधिकार सुनिश्चित गरिनेछ भन्नेमा म आशावादी छु।
७. कृषि र श्रमिक अवस्था
हाम्रा किसानहरू—जसले बाँझो जमिनलाई हराभरा बनाउँछन्—आज विदेशी भूमिमा सस्तो मजदुर बन्न बाध्य छन्।
यस अवस्थाको अन्त्य गर्न हामी सबै एकजुट हुनु अपरिहार्य छ।
८. राष्ट्रिय एकता
दलभन्दा देश ठुलो हो। कांग्रेस, एमाले, रास्वपा, राप्रपा सबैले दलगत स्वार्थ त्यागेर सुशासन, विधिको शासन र प्रजातान्त्रिक अभ्यासका लागि एकढिक्का हुनुपर्छ।
९. समानता र विकास
देशका कतिपय क्षेत्रमा सडक मार्ग र आधुनिक पूर्वाधार निर्माण भइरहेका छन् भने दुर्गम कर्णालीका नागरिकहरूले अझै कालोपत्रे सडक देख्न पाएका छैनन्।
यो असमानताको अन्त्य गर्दै समान विकास सुनिश्चित गर्नु वर्तमान सरकारको दायित्व हो।
१०. परराष्ट्र नीति
विश्वका विभिन्न क्षेत्र—युरोप, मध्यपूर्व र अमेरिका—अशान्तिमा छन्। यसको प्रभाव नेपालमा पनि पर्न सक्छ। त्यसैले नेपालले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रही विश्वमा आफ्नो पहिचान सुदृढ गर्नुपर्छ।
११. स्वास्थ्य क्षेत्र
अस्पतालको खर्च तिर्न नसकेर उपचार नपाई मृत्युको मुखमा पुग्ने नागरिकहरूको पीडाको अन्त्य हुनुपर्छ।
१२. शिक्षा सुधार
पुरानो पाठ्यक्रम, घोकन्ते शिक्षा र बेरोजगारी उत्पादन गर्ने प्रणालीले देशको भविष्य अन्धकारतर्फ धकेलिरहेको छ।
त्यसैले शिक्षा नीति र पाठ्यक्रममा आमूल परिवर्तन अपरिहार्य भएको छ।
१३. प्रदेश संरचना
देशमा ५५५ जना सांसद पाल्नुपर्ने र खर्बौं रुपैयाँ खर्च हुने अवस्था छ।
यस संरचनाको खारेजीका लागि संविधान संशोधन आवश्यक छ भन्ने धारणा प्रस्तुत गर्दछु।
१४. राष्ट्रको पहिचान
आज यो संसदमा १६५ जना जनताबाट प्रत्यक्ष निर्वाचित र ११० जना विभिन्न जात धर्म वर्गका आधारमा समानुपातिक व्यवस्थाअन्तर्गत निर्वाचित हुनुभएको हो। आज हामीलाई पहिचान चाहिएको तर देशलाई पहिचान चाहिने कि नचाहिने?
माननेपाल बहुसंख्यक रूपमा हिन्दु, बौद्ध र किराँत परम्परामा आधारित राष्ट्र हो।
त्यसैले राष्ट्रको पहिचान र सांस्कृतिक आधारको पुनर्स्थापनाका लागि गम्भीर भई हिन्दु, बौद्ध किराँतसहित हिन्दु अधिराज्य स्थापना गर्ने संविधान संशोधन गरेर लागु गर्न अपिल गर्दछु।
१५. राजसंस्था सम्बन्धी धारणा
नेपालको इतिहास राजसंस्था र जनताको सहकार्यबाट बनेको हो।
राष्ट्रिय एकता, स्थायित्व र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्थाको पुनर्स्थापनाबारे गम्भीर विमर्श आवश्यक छ भन्ने धारणा राख्दछु।
१६. निष्कर्ष
सुन्दर, शान्त र समृद्ध नेपाल—जहाँ हरेक नागरिकले आफ्नै देशमा भविष्य देख्न सकोस्—यस्तो नेपाल निर्माण होस् भन्ने हार्दिक कामना व्यक्त गर्दछु।
जय राष्ट्रवाद! जय नेपाल!
— ज्ञानेन्द्र शाही


प्रतिक्रिया