काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
जनकपुरमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हरायो । मधेशले दिएको १८५ रनको लक्ष्य आर्मीले २९ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले ६९, बसिर अहमदले नटआउट ४१ रन बनाए । मधेशका मोहम्मद आदिल आलमले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको मधेशले ४८ ओभर ३ बलमा १८४ रन बनाउँदा सबै विकेट गुमायो । मधेशका विशाल शुस्लिङले ५१, कप्तान अनिल साहले ४२ रन बनाए । आर्मीका बसिर अहमदले ३ विकेट लिए ।
योसँगै आर्मी ५ खेलमा ४ जीतसहित ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मधेश ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा छ ।
यस्तै वीरगञ्जमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २ विकेटले हरायो । गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरपश्चिमले ३९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका अभिषेक पालले ६६, नारायण जोशीले नटआउट ४५ रन बनाए । गण्डकीका विपिन खत्रीले ५ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर १९० रन बनायो । गण्डकीका अर्जुन कुमालले ४४, कप्तान विपिन खत्रीले ३० रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ५ विकेट लिए ।
योसँगै सुदूरपश्चिम ५ खेलमा ४ जीतसहित ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गण्डकी ५ खेलमा ३ अंकसहित नवौँ स्थानमा छ ।


प्रतिक्रिया