इरानद्वारा दुबईस्थित ओराकलको डाटा सेन्टरमा आक्रमणको दाबी

इरानद्वारा दुबईस्थित ओराकलको डाटा सेन्टरमा आक्रमणको दाबी



इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बिहीबार संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको अमेरिकी प्रविधि कम्पनी ‘ओराकल’ को डाटा सेन्टरमा आक्रमण गरेको दाबी गरेको छ ।

दुबई मिडिया अफिसले शुक्रवार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त दाबीलाई अस्वीकार गरेको छ । कार्यालयले दुबईस्थित ओराकलको डाटा सेन्टरमा इरानी आक्रमण भएको भनिएका रिपोर्टहरूलाई ‘भ्रामक र असत्य’ बताएको छ ।

यसअघि बिहीबार नै आईआरजीसीले इरानी नागरिकहरूको हत्याको बदलामा यस क्षेत्रमा रहेका अमेरिकी र इजरायली जासुसी कम्पनीहरू विरुद्धको पहिलो कारबाही स्वरूप बहराइनमा रहेको अमेजनको क्लाउड कम्प्युटिङ अपरेसन सेन्टरलाई निशाना बनाएर ध्वस्त पारेको बताएको थियो ।

गत फेब्रुअरी २८ देखि इरानमाथि सुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ । यसैको प्रतिक्रिया स्वरूप इरान र यसका क्षेत्रीय सहयोगीहरूले मध्य पूर्वभरि रहेका इजरायली र अमेरिकी स्वार्थ केन्द्रहरूमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।