काठमाडौँ । युट्युबर रतन कार्की र मिन गुरुङसहितका व्यक्तिहरूविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ ।
साइबर बुलिङको सिकार भएको बताउँदै अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएको र चरित्रहत्या गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध उजुरी दिएकी हुन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध आयोजित प्रदर्शनमा सहभागी भएपछि पराजुली सामाजिक सञ्जालमा चर्चामा आएकी थिइन् । सोही क्रममा दिएको अभिव्यक्तिका कारण उनी भाइरल बनेकी थिइन् ।
आइतबार आफ्नी आमासहित साइबर ब्युरो पुगेकी पराजुलीले कार्की र गुरुङका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटरविरुद्ध पनि उजुरी दर्ता गराएकी छन् । आफूसँग असम्बन्धित विषयमा भ्रामक सामग्री तयार पारिएको र बुबाले गाली गरेको भन्दै झुटो प्रचार गरिएको उनको आरोप छ ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलिपकुमार गिरीका अनुसार घटनासँग सम्बन्धित २२ वटा फेसबुक खातालाई रिपोर्ट गरी लोकेट गर्ने काम भइरहेको छ । रतन कार्की र मिन गुरुङलगायत विरुद्ध परेको उजुरीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया