काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताइन् । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’
संस्थापन र संस्थापनइतरका रुपमा विभाजित कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत चयन हुने सम्भावना न्यून छ । सहमतिमा चयन नभए निर्वाचन हुने लगभग निश्चित छ । निर्वाचन भए संस्थापनबाट अर्जुननरसिंह केसी अथवा मोहन आचार्य र संस्थापनइतरबाट भीष्मराज आङदाम्बेबीच प्रतिस्पर्धा हुने प्रवल सम्भावना छ ।
त्यसबाहेक मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईको को नाम पनि चर्चामा ल्याइएको छ ।
सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्नु परेकाले कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ । आइतबार डोलप्रसाद (डीपी) अर्याल सभामुख चयन भइसकेकाले अब अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेछन् ।


प्रतिक्रिया