इरानविरुद्ध अपशब्द प्रयोग गर्दा फसे अमेरिकी राष्ट्रपति ट्रम्प

इरानविरुद्ध अपशब्द प्रयोग गर्दा फसे अमेरिकी राष्ट्रपति ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध अपशब्द प्रयोग गरेपछि विवादमा तानिएका छन् । अमेरिकी सांसदले ‘२५औँ संशोधन’अन्तर्गत उनलाई पदबाट हटाउने प्रस्ताव ल्याउन माग गरेका छन् ।

अमेरिकी कंग्रेसका धेरै सांसदले ट्रम्पलाई पदबाट हटाउन यो संवैधानिक व्यवस्था प्रयोग गर्नुपर्ने माग गरेका छन् । ट्रम्प आफ्ना कर्तव्य पूरा गर्न पूर्ण रूपमा असक्षम देखिएका र उनलाई पदबाट हटाउनु नै उपयुक्त विकल्प भएकामा उनीहरूको जोड छ ।

ट्रम्पले इरानलाई ‘होर्मुज जलमार्ग खोल’ भन्दै अभद्र शब्दको प्रयोग गरेका थिए । र, इरानको ऊर्जा तथा यातायात पूर्वाधारमा थप आक्रमण गर्ने धम्की दिएका थिए ।

अमेरिकी संविधानको २५औँ संशोधनमा राष्ट्रपतिलाई पदबाट हटाउने र त्यसपछिको प्रक्रियाबारे विस्तृत व्यवस्था छ । यो प्रावधानअन्तर्गत राष्ट्रपतिलाई हटाइएमा उपराष्ट्रपतिले बाँकी कार्यकाल कार्यभार सम्हाल्ने व्यवस्था छ ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा इरानबारे आपत्तिजनक शब्द प्रयोग गरेपछि विपक्षी सांसद आक्रोशित भएका हुन् । सिनेटर बेका बालिन्टले भनिन्, “यदि, ओबामा वा बाइडेनले यस्तो भनेका भए रिपब्लिकनले के गर्थे ? सबैले उनलाई हटाउन माग गर्थे । म पनि ट्रम्पलाई हटाउन माग गर्छु ।”

सिनेटर क्रिस मर्फीले भने, “यदि, म ट्रम्पको क्याबिनेटको हिस्सा हुन्थेँ भने २५औँ संशोधन लागु गर्न वकिलहरूसँग कुरा गर्थें । ट्रम्प मानिसको हत्या गर्न उद्यत देखिन्छन् ।”

यस्तै, तल्लो सदनकी प्रतिनिधि यासिम अन्सारीले भनिन्, “राष्ट्रपति ट्रम्प पागल भइसकेका छन् । उनीविरुद्ध प्रस्ताव ल्याउने यो नै उपयुक्त समय हो, किनकि ट्रम्पका कारण पूरै विश्व खतरामा पर्न सक्छ ।”

सांसद मेलानी स्टान्सबरीले भनिन्, “सम्राट पूर्ण रूपमा नांगिइसकेका छन् । अब कदम चाल्ने समय आएको छ, नत्र स्थिति नियन्त्रणबाहिर जान सक्छ ।”