निर्वाचन समीक्षा गर्न सभापति गगन जनकपुरमा

निर्वाचन समीक्षा गर्न सभापति गगन जनकपुरमा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले प्रदेशस्तरीय निर्वाचन समीक्षात्मक कार्यक्रमलाई तीव्रता दिएको छ । यसैक्रममा सभापति थापा मधेस प्रदेशको राजधानी जनकपुर जान लागेका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको विषयमा समीक्षा गर्न कांग्रेसले जनकपुरमा कार्यक्रम आयोजना गर्न लागेको हो । सो कार्यक्रममा सभापति थापाको प्रत्यक्ष सहभागिता रहनेछ ।

फागुन २१ को निर्वाचनमा सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा पहिलो पटक मधेस प्रदेश झर्न लागेका हुन् । कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार जनकपुरमा हुने प्रदेशस्तरीय समीक्षा कार्यक्रमपछि सभापति थापा सर्लाही ४ पुग्ने कार्यक्रम रहेको छ ।

उनका अनुसार देशभर आयोजना गरिने समीक्षा कार्यक्रममा सम्बन्धित क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय सदस्य, समानुपातिक उम्मेदवार तथा प्रदेश पदाधिकारीहरू सहभागी हुनेछन् ।

कांग्रेसले जनकपुरपछि चैत २७ गते पोखरा, चैत २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत, वैशाख ५ गते धनगढी, वैशाख ७ गते हेटौंडा र वैशाख ९ गते विराटनगरमा समेत चुनावी समीक्षा कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।