काठमाडौं । सन्दीप जोरा र सुमित महर्जनको अर्धशतकमा विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार कोशी प्रदेशविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको छ ।
जनकपुरस्थित रामजानकी बहुउदेश्यीय रंगशालामा एपीएफले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको कोशीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।
कोशीका लागि अंकित सुवेदीले ६७ बलमा ११ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी, सुमन श्रेष्ठले १३२ बलमा ५ चौकासहित ६५, रोहन शाहले ३२ र आशिष मगरले १७ रन बनाए ।
एपीएफका लागि अभिषेक गौतमले ४, कप्तान रोहितकुमार पौडेलले २ तथा भुवन कार्की र अमरसिंह रौटेलाले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल तयार पारेको थियो ।
एपीएफका लागि सन्दीपले ९४ बलमा ८ चौका र १ छक्काको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी, सुमितले ७३ बलमा ६ चौका र १ छक्कासहित ५७, अमरसिंह रौटेलाले अविजित २७, आसिफ शेखले २०, युवराज खत्रीले ११ रन बनाए ।
कोशीका लागि कप्तान सुजन थपलियाले ३, विपिन महतो र दिपेश कँडेलले २–२ तथा रोहन शाहले १ विकेट लिए ।
जितसँगै ८ खेलबाट ९ अंक जोडेको एपीएफ पाँचौँ स्थानमा उक्लिएको छ । जितविहीन कोशी समान खेलबाट १ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया