काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग र श्रम मन्त्री नियुक्त गरेका हुन्। रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।
रामजी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी-२ मा निर्वाचित भएका हुन्। ३० वर्षीय रामजीले २८ हजार ४०४ मत ल्याएका थिए। उनका निकट प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याएका थिए भने जनमत पार्टीका अध्यक्ष सिके राउत ९ हजार ८८० मत ल्याएर तेस्रो भएका थिए।
गौरी यादव फागुन २१ को प्रतिनिधिसभा चुनावमा महोत्तरी–४ बाट ३० हजार भोट ल्याएर निर्वाचित भएकी हुन्। ५४ वर्षीया गौरी बालेनको गाउँकी हुन् ।
उनीहरूको सपथ ग्रहण शुक्रबार साँझसम्म हुनेछ । यस निर्णयसँगै मन्त्रिपरिषद्मा महिलाको उपस्थिति करिब ४० प्रतिशत पुग्ने र मधेश प्रदेशको प्रतिनिधित्व समेत बलियो हुने रास्वपाको दाबी छ ।


प्रतिक्रिया