काठमाडाैं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई पुराना दलजस्तै बन्न खोजेको भन्दै प्रश्न उठाएकी छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत बमले परिवर्तनलाई सम्बोधन गर्दै संसदमा बोल्नुपर्ने भए पनि त्यत्तिकै अधिवेशन सकाएको बताएकी हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, संसदको पहिलो अधिवेशनदेखि आजसम्म हामीले देशका प्रधानमन्त्रीको आवाज सुन्न पाएका छैनौँ । चुनाव जितिसकेपछि जनतालाई धन्यवाद दिन पनि तपाईंले बोल्नुपर्थ्यो । यो परिवर्तनलाई स्वीकार्दै जनतालाई सम्बोधन गर्नु तपाईंको जिम्मेवारी थियो । तर, तपाईंले संसदमा नबोली अधिवेशन सक्नु भयो,’ उनले लेखेकी छिन्, ‘हामी तपाईंको आवाज सुन्न चाहन्छौँ । ‘कुरा कम, काम बढी’ भन्ने धारणा तपाईंको व्यक्तिगत विश्वास होला, तर संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु पनि तपाईंको कर्तव्य हो । लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनुपर्छ ।’
जनतालाई आफ्ना समस्याहरूको प्राविधिक समाधान मात्रै होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिने उनको भनाइ छ ।
‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नुभएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस्, र पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट लोकतान्त्रिक अवसरलाई संकुचित सोच र सीमित शैलीमा प्रयोग गरेर उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरालाई सच्याउनुस्,’ उनले लेखेकी छन्, ‘तपाईं सक्षम हुन सक्नुहुन्छ, सबल हुन सक्नुहुन्छ । तर, यससँगै बिर्सनै नहुने कुरा, तपाईं एक व्यक्तिका हिसाबले सीमित पनि हुनुहुन्छ । पुरानाहरूजस्तै आफूलाई असीमित ठान्ने भूल नदोहोर्याउनुहोला ।’


प्रतिक्रिया