काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको सम्भावनाअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब पुगेका छन् । गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन् ।
पाकिस्तानी नेताले ‘क्षेत्रीय अवस्था’ बारे साउदी राजकुमार मोहम्मद बिन सलमानसँग छलफल गर्ने उनको कार्यालयले जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले यसअघि साउदी अरब र कतारको भ्रमण ‘द्विपक्षीय परिवेश’लाई ध्यानमा राख्दै हुन लागेको बताएको थियो । साउदी अरब र कतारपछि सरिफले अन्टाल्या कूटनीति मञ्चमा भाग लिने बताइएको छ।
सरिफले अन्टाल्या फोरमको छेउछाउमा राष्ट्रपति रेसेप तैयप एर्दोगान र अन्य नेताहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामाबाद वार्ता एक कदम अगाडिको प्रगति हो । वार्ताबाट कुनै उपलब्धी नभएपनि दुई पक्षलाई संवादमा ल्याउन वार्ता पहल सफल भएको छ ।
इरानले अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणको बदलामा साउदी अरब र कतारलगायत खाडीमा रहेका अमेरिकी सहयोगीलाई निशाना बनायो र उक्त क्षेत्रबाट ऊर्जा निर्यातमा अवरोध गर्यो, जसका कारण तेलको मूल्य अत्यधिक बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि कुनै सहमति नभए पनि वार्ता यसै हप्ता पाकिस्तानी राजधानीमा पुन: सुरु हुन सक्ने बताएका थिए ।
संयुक्त राज्य अमेरिकाले इरानको नौसैनिक नाकाबन्दीको आदेश दिए पनि अर्को हप्ता समाप्त हुने युद्धविराम जारी छ । सरिफसँगै अमेरिका–इरान वार्ताका क्रममा मध्यस्थकर्ता रहेका विदेशमन्त्री इशाक दार र अन्य वरिष्ठ अधिकारीहरु पनि छलफलमा सहभागी हुने उनको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया