कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह


ग्लोब नेपाल
243
Shares

गोरखा । तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिईन् ।

श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिईन् । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको नामअंकित भएको थियो ।

तेह्र दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अंकित गरिएको उनले जानकारी दिईन् । “पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ”, श्रेष्ठले भनिन् ।

उनले आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छन् ।

आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका–९ आरुटार निवासी हुन् ।