सर्वोच्च अदालतको निर्णय जित-हारको विषय होइन, लोकतान्त्रिक अभ्यास हो: गगन थापा

सर्वोच्च अदालतको निर्णय जित-हारको विषय होइन, लोकतान्त्रिक अभ्यास हो: गगन थापा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णय कुनै जित–हारको विषय नभएको बताएका छन् । सर्वोच्च अदालतले शुक्रवार राति थापा नेतृत्वको काँग्रेस नै आधिकारिक भएको फैसला गरेपछि थापाले सामाजिक सञ्जालबाट यो विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको बताएका हुन् ।

उनले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको प्रतिक्रिया दिएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,’ उनले भनेका छन्, ‘यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’

उनले पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आआफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुने विश्वास पनि व्यक्त गरेका छन् ।

‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु, पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ । महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ । अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ ।’ थापाले लेखेका छन् ।