काठमाडौँ । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
चुरे गाउँपालिका–३, भक्तपुर बस्ने सहोदर दाजुभाइ ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएपछि उनीहरू बिरामी परेका थिए । सोही घटनामा उनकी आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय कान्छा छोरा दिपेश ताम्राकारको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटना बिहीबार भए पनि जानकारी शुक्रबार मात्र प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी लगिएको हो ।
प्रहरीले मरेको कुखुराको मासु खाएकै कारण स्वास्थ्य समस्या देखिएको आशंका गरेको भए पनि औपचारिक पुष्टि भने गर्न बाँकी रहेको जानकारी दिएको छ । मासु स्थानीय विकास पोल्ट्री फार्मबाट ल्याइएको पाइएको प्रहरीले जनाएको छ ।
फार्म सञ्चालक मंगल साउँद इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई कागज गरेका छन् । उनलाई आवश्यक परेको बखत हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया