काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेत त्याग गरेका छन् । यसअघि १८ चैतमा अध्यक्ष परिषद् सदस्यबाट राजीनामा दिएका उनले आजदेखि पार्टीको साधारण सदस्यसमेत नरहेको जानकारी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रलोपा छाड्ने निर्णय सार्वजनिक गर्दै लेखेका छन्, “प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब पाँच महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
माओवादी र एकीकृत समाजवादीलगायत दलहरूबीच सहकार्य हुँदै नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि किराँती जनार्दन शर्मालगायत नेतासँगै प्रलोपामा आवद्ध भएका थिए ।
उनले पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया