सुधनको राजीनामापछि गृहमा कस्को सम्भावना ?

सुधनको राजीनामापछि गृहमा कस्को सम्भावना ?


ग्लोब नेपाल
297
Shares

काठमाडौं । गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले राजीनामा दिएका छन् । उनको राजिनामासँगै गृहमन्त्री को बान्ला भन्ने चर्चाले यतिबेला राजनीतिक वृत्त तातेको छ । छानबिन समितिमार्फत् निवर्तमान गृहमन्त्री गुरुङलाई सफाइ दिएर पुनः मन्त्री बनाउने कि नयाँलाई अवसर दिने भन्ने विवाद रास्वपाभित्र मन्थन भइरहेको छ ।

छानबिन समितिले गुरुङलाई निर्दोष ठहर गर्न सक्ने सम्भावना एकदमै न्युन रहेको जानकारहरु बताउँछन् । त्यसैले काबिल गृहमन्त्रीको खोजीमा रास्वपा जुटेको बुझिएको छ । यस विषयमा पार्टी सभापति रवि लामिछाने र संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र साहबीच छलफल गरेर शनिबारसम्म निष्कर्ष निकाल्ने सम्भावना रहेको छ ।

समाचारस्रोतका अनुसार गुरुङले राजीनामा दिएपछि ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज पोखरेललाई अगाडि सार्ने सम्भावना बलियो रहेको बताइएको छ । चुनाव लड्नुअघि नै भावी गृहमन्त्री तपाईं नै भनेर सभापति रवि लामिछानेले वचन दिएको बताइएको छ ।

प्राविधिक रुपमा गृहमन्त्री बनाउन तत्काल सम्भव नभए पनि रविको प्रतिक्षासूचिमा पोखरेल नै रहेको बताइएको छ । जुनसुकै बेला मन्त्रालय सम्हाल्नुपर्छ भनेरै पोखरेललाई संसदीय समितिको समेत नेतृत्व दिइएको छैन । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकसमेत रहेका पोखरेल गृहमन्त्रालयका जानकार मानिन्छन् ।

पोखरेलबाहेक पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, अम्रेशकुमार सिंह र दिपक बोहोराको नाम पनि चर्चामा ल्याइएको छ । बुर्लाकोटी प्रमुख सचेतक रहेको, प्रवक्ता झाको प्रधानमन्त्री बालेनसँग कुरा नमिल्ने, बोहोराबाट काम नचल्ने र अराजकको परिचय बनाएका अम्रेशकुमारको गृहमन्त्री बन्ने सम्भावना चर्चामा सीमित हुने लगभग निश्चितजस्तै छ ।