काठमाडौँ । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती बलप्रयोग गरेर हटाउने सरकारको तयारीप्रति ‘जेनजेड रेड फोर्स नेपाल’ले आपत्ति जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर आगामी शनिबार र आइतबार थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका थिए ।
उक्त निर्णयप्रति विरोध जनाउँदै जेनजेड रेड फोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले विज्ञप्ति जारी गरेकी छन् । विज्ञप्तिमा निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर गरेका प्रतिबद्धता सम्झिन प्रधानमन्त्री शाह र रवि लामिछानेलाई आग्रह गरिएको छ ।
“बिना कुनै विकल्प, बिना क्षतिपूर्ति र ठोस व्यवस्थापन नगरी वर्षात्को मुखमा गरिब तथा सर्वहारा वर्गमाथि डोजर चलाउने निर्णय आत्मघाती र अन्यायपूर्ण छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा निर्वाचनताका सत्तारूढ दलका नेताहरूले सुकुम्बासी बस्ती नहटाउने र आवश्यक परे आफैं प्रतिरोधमा उत्रिने अभिव्यक्ति दिएको स्मरण गराउँदै अहिलेको निर्णयलाई दोहोरो चरित्रको संज्ञा दिइएको छ ।
“निर्वाचनका बेला सुकुम्बासी बस्तीलाई भोट बैंकका रूपमा प्रयोग गर्ने र सत्तामा पुगेपछि तिनै गरिब जनतालाई सडकमा ल्याउने कार्यको हामी घोर भर्त्सना गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
जेनजेड रेड फोर्सले सरकारलाई दोहोरो चरित्र नदेखाउन चेतावनी दिँदै चार बुँदे मागसमेत अघि सारेको छ । जसमा चुनावी प्रतिबद्धता कार्यान्वयन, सुकुम्बासीमाथि दमन रोक्न, गरिब जनताको संरक्षण तथा महँगी नियन्त्रण गर्नुपर्ने माग समावेश छन् ।



प्रतिक्रिया