हिरासतमा मृत्यु प्रकरण छानबिन गर्न प्रहरीद्वारा समिति गठन

हिरासतमा मृत्यु प्रकरण छानबिन गर्न प्रहरीद्वारा समिति गठन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी पत्रअनुसार घटनाको तथ्यगत र वस्तुनिष्ठ अनुसन्धानका लागि समिति गठन गरिएको हो।

पत्रअनुसार सिन्धुली जिल्ला, सुनकोशी गाउँपालिका-३ का २२ वर्षीय दल बहादुर विकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो।

सोही क्रममा मिति २०८३ वैशाख ७ गते बिहान करिब ९:४५ बजे हिरासत कक्षको शौचालयमा उनले आफ्नै सर्टको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको र उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ।

उक्त घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिमा नेपाल प्रहरीको मानव स्रोत तथा प्रशासन शाखाका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रेम रेग्मी र सोही कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र सापकोटा सदस्य रहेका छन्।

प्रहरी प्रधान कार्यालयले उक्त समितिलाई तोकिएको जिम्मेवारीअनुसार घटनाको सूक्ष्म अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।