थापाथलीका सुकुम्बासी दशरथ रंगशालामा

थापाथलीका सुकुम्बासी दशरथ रंगशालामा

स्क्रिनिङपछि होल्डिङ सेन्टर


ग्लोब नेपाल
27
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीलाई सुरक्षाकर्मीले दशरथ रंगशालामा लैजाने तयारी गरिएको छ ।

शनिबार बिहानदेखि थापाथली क्षेत्रमा महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सुरु गरेसँगै केही परिवार भने बिहीबार रातिदेखि नै अन्यत्र सरेका छन् ।

अझै अन्यत्र जान नसकेका तथा विकल्पविहीन सुकुम्बासीलाई रंगशालामा लगिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । ‘उहाँहरूलाई रंगशालामा लग्ने तयारी छ, त्यहाँ स्क्रिनिङ गर्छौं,’ उनले भने ।

स्क्रिनिङ प्रक्रिया सम्पन्न भएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा सारिने महानगरले जनाएको छ । ती होल्डिङ सेन्टरको स्थान भने खुलाइएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलले पनि सुरुमा सबैलाई रंगशालामा लैजाने योजना रहेको बताए । उनका अनुसार स्थानान्तरणका क्रममा कुनै बल प्रयोग गरिने छैन ।

‘हामी कसैमाथि बल प्रयोग गर्दैनौं । पिट्ने, लखेट्ने वा लछारपछार गर्ने काम हुँदैन,’ उनले भने, ‘सरकारले गाडीको व्यवस्था गरेको छ। सामानसहित लैजान सहयोग गर्छौं, आवश्यक परे बालबच्चासहित पनि सुरक्षित रूपमा रंगशालामा लैजान्छौं ।’

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार रंगशालामा ल्याइएका परिवारलाई प्रारम्भिक रूपमा आज साँझसम्म राखिनेछ। सहरी विकास मन्त्रालयका तीन टोली त्यहाँ तयारी अवस्थामा रहनेछन् ।

‘टोलीले परिवारको संख्या, बालबालिका र ज्येष्ठ नागरिकको विवरण संकलन गर्छ । त्यसपछि तोकिएका स्थानमा रहेका होल्डिङ सेन्टरमा पठाइन्छ,’ उनले भने । हाल थापाथली क्षेत्रमा सुरक्षाकर्मीले सुकुम्बासीको सामान सार्न समेत सहयोग गरिरहेका छन् । थापाथलीपछि अन्य क्षेत्रका बस्ती पनि हटाउने तयारी सरकारको छ ।

पहिलो चरणमा थापाथलीसँगै सिनामंगल र मनोहरा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइने जनाइएको छ ।