एन्फा पदाधिकारीको पासपोर्ट रोक्का, आर्थिक छानबिन तीव्र

एन्फा पदाधिकारीको पासपोर्ट रोक्का, आर्थिक छानबिन तीव्र


ग्लोब नेपाल
540
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ ।

आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावकारी बनाउन अध्यागमन विभागमार्फत सबै पदाधिकारीको पासपोर्ट रोक्का गरिएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।

राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न आफ्नो कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो । खेलकुद मन्त्रालयमार्फत आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा उक्त समिति गठन गरिएको राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

छानबिन प्रक्रिया अगाडि बढाउने क्रममा राखेपले एन्फा पदाधिकारीहरूको पासपोर्ट रोक्का गर्न खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत सिफारिस पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

यसअघि ‘अर्ली इलेक्सन’ सम्बन्धी विवादका कारण राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।