काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।
सोही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्राचार गरेको छ । त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।
प्रशासन महाशाखाका एक अधिकारीका अनुसार अतिक्रमित जग्गा फिर्ता ल्याउने क्रममा सबै संघ–संस्था तथा संगठनलाई छुट्टाछुट्टै पत्र पठाइएको छ । ‘क्यानसँगको सम्झौता पनि यही मसान्तमा सकिँदैछ,’ उनले भने ।
त्रिविका एक पदाधिकारीका अनुसार यसपटक क्यानसँग सम्झौता नवीकरण गर्ने पक्षमा विश्वविद्यालय छैन । यता, क्यानका प्रवक्ता छुम्बी लामाले भने पत्र प्राप्त नभएको बताएका छन् । सार्वजनिक बिदाका कारण पत्र पुग्न ढिलाइ भएको हुनसक्ने त्रिविका अधिकारीहरूको भनाइ छ ।
यसबीच, क्यानको बोर्ड बैठकले भने त्रिविसँग सम्झौता नवीकरणका लागि पहल गर्ने निर्णय गरेको छ । गत चैत २३ गते बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसमक्ष करार अवधि थप गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया