कांग्रेसले भोलि संसदीय दलको नेता पाउने

कांग्रेसले भोलि संसदीय दलको नेता पाउने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको नाम सहमतिका लागि प्रस्ताव गर्न भन्दै सोमबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

सहमहामन्त्री तथा दलको नेता निर्वाचनका लागि बनाइएको निर्वाचन समितिका संयोजक प्रकाश स्नेही रसाइलीले पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको र त्यो बैठकमा सभापति गगन थापाले दलको नेतामा सहमतिका लागि नाम प्रस्तुत गर्ने जानकारी दिए ।

‘सोमबार बिहान ११ बजे कार्यसम्पादन समिति बैठक आह्वान भएको छ । त्यो बैठकमा सभापतिज्यूले दलको नेता सहमतिमा चयन गर्न नाम प्रस्ताव गर्नुहुन्छ,’ रसाइलीले भने, ‘कार्यसम्पादन समितिमा सहमति गरेपछि १ बजे दलको बैठक बसेर अनुमोदन गर्छौँ । भोलि हाम्रो संसदीय दलले नेता पाउँछ ।’

कांग्रेसमा दलको नेताका लागि ३ जनाले दाबी गरिरहेका छन् । अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दलको नेतामा दाबी गरिरहेका छन् ।

सिनियर नेता अर्जुननरसिंह केसी दलको निर्वाचन नलड्ने बताएका छन् । सर्वसम्मत दलको नेता नबन्ने भएपछि केसी यो दौडबाट लगभग बाहिरी सकेका छन् । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति विश्वप्रकाश शर्माले संस्थापनइतरका भीष्मराज आङदम्बेलाई अघि सारेका छन् । सर्वसम्मत नभए यी दुईबीच चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।