पहिरोले कान्तिलोकपथ र अरनिको राजमार्ग अवरुद्ध

पहिरोले कान्तिलोकपथ र अरनिको राजमार्ग अवरुद्ध


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका-४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । प्रहरीका अनुसार बिहान ५ बजेतिर खसेको पहिरोले काठमाडौँ र हेटौँडा आउ-जाउ पूर्णरूपमा अवरुद्ध भएको हो ।

यसैगरी, पहिरोले नै अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात आवागमन प्रभावित भएको छ ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ । बिहान ५:४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।