काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ।
रास्वपाले परम्परागत राजनीतिक दलहरूमा देखिने नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै योग्यता र विधिको शासनमा आधारित नेतृत्व चयन गर्ने लक्ष्य राखेर आगामी स्थानीय तहको निर्वाचनका लागि वैज्ञानिक र पारदर्शी ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक गरेको हो ।
पार्टीका अनुसार अब उम्मेदवार नेताको निगाहबाट होइन, जनताको भरोसा, सार्वजनिक आचरण र नेतृत्व क्षमताका आधारमा तय हुनेछन् । २०६२/६३ को जनआन्दोलनदेखि लिएर पछिल्लो ‘जेनजेड पुस्ताको विद्रोहसम्मलाई विश्लेषण गर्दै रास्वपाले दलहरूमा आम नागरिकको पहुँच टुट्दा नै असन्तुष्टि बढेको निष्कर्ष निकालेको छ ।
फरक राजनीति चर्का भाषणमा होइन, आन्तरिक सुशासनमा देखिनुपर्छ भन्ने मान्यताका साथ ल्याइएको यस खाकामा उम्मेदवार बन्न चाहनेले विभिन्न चार वटा कठिन चरण र परीक्षणहरू पार गर्नुपर्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया