सशस्त्र प्रहरी बलमा नयाँ नेतृत्व, पौडेललाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी बलमा नयाँ नेतृत्व, पौडेललाई दर्ज्यानी चिह्न प्रदान


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् ।

यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो । सो रिक्त पदमा बढुवा भई पौडेलले संगठनको नेतृत्व सम्हालेका छन् । कार्यक्रममा गृह मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यसअघि १८ वैशाखमा पद रिक्त भए पनि बीचमा सार्वजनिक बिदा परेकाले दर्ज्यानी चिह्न लगाउने कार्यक्रम सोमबारका लागि तय गरिएको थियो । गृह सचिवबाटै दर्ज्यानी चिह्न लगाउने प्रचलन कायम राख्दै फुली लगाउने काम सम्पन्न भएको हो ।

आईजीपीलाई कसको हातबाट दर्ज्यानी चिह्न लगाइने भन्ने विषयमा यसअघि केही बहस भए पनि सुरक्षा निकाय गृह मन्त्रालय मातहत रहने तथा शान्ति–सुरक्षा व्यवस्थापनमा गृह प्रशासनको भूमिकालाई ध्यानमा राख्दै पूर्ववत् प्रचलनअनुसार गृह सचिवबाटै चिह्न प्रदान गरिएको जनाएको छ ।