लन्डन । विदेशी नागरिकता लिएकै आधारमा ३६ जना गैरआवासीय नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त भएको छ ।
उत्तर अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया र अन्य देशहरूमा हजारौं नेपाली मूलका चिकित्सकहरूको प्रतिनिधित्व गर्ने ६ वटा अन्तर्राष्ट्रिय संस्थाले हिजो मंगलबार उक्त निर्णयप्रति असहमति प्रकट गर्दै तत्काल सच्याउन अनुरोध गरेका छन् ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (संयुक्त राज्य अमेरिका र नेपाल), अमेरिका नेपाल मेडिकल एसोसिएसन, हेल्थ फाउन्डेसन नेपाल, नेपलिज डाक्टर्स एसोसिएसन यूके, अस्ट्रेलियन नेपलिज मेडिकल एण्ड डेन्टल एशोसिएसन तथा एनआरएनए ग्लोवल हेल्थ कमिटीले संयुक्त विज्ञप्ति जारी गर्दै काउन्सिललाई आफ्नो निर्णयमा पुनः समीक्षाका लागि औपचारिक अनुरोध गरेका हुन् ।
काउन्सिलका उपाध्यक्ष डा. कुञ्जाङ शेर्पालाई सम्बोधन गर्दै लेखिएको पत्रमा उक्त निर्णय नेपालको संवैधानिक प्रतिवद्धता, एनआरएन ऐनका प्रावधान र देशको ‘हेल्थ केयर वर्कफोर्स’ को आवश्यकताहरूसँग मेल नखाने स्मरण गराइएको छ ।
‘३६ जना योग्य चिकित्सकलाई केवल विदेशी नागरिकता आधार बनाएर चिकित्सा दर्ताबाट हटाइएको छ’, पत्रमा भनिएको छ- ‘विदेशी नागरिकता प्रायः विदेशमा तालिम लिएका र काम गरेका चिकित्सकहरूका लागि एक व्यावसायिक र व्यक्तिगत आवश्यकता हो । तर, यसलाई व्यावसायिक मापदण्डको उल्लंघनका रूपमा व्यवहार गरिएको छ जुन न त कानूनी रूपमा उचित छ, न त प्रशासनिक रूपमा समानुपातिक नै ।’


प्रतिक्रिया