काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकाल निजी क्षेत्रको उत्थान र कानूनी अड्चन फुकाउने हिसाबले ऐतिहासिक रहेको बताएका छन् ।
बुधवार महासंघको जिम्मेवारी हस्तान्तरणका क्रममा उनले निजी क्षेत्रप्रति सरकार र आमजनताको दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धिको रूपमा उल्लेख गरे । वर्षौँदेखि थाती रहेका कानूनी सुधारका विषयलाई तार्किक निष्कर्षमा पुर्याउन आफ्नो कार्यकालमा पहल गरिएको उनले बताए ।
ढकालका अनुसार वैदेशिक प्रत्यक्ष लगानी तथा आन्तरिक लगानी प्रवर्द्धन, व्यवसाय विस्तारमा रहेका बाधा हटाउने काममा महासंघले प्रभावकारी भूमिका खेलेको छ । ‘कालोबजार ऐन’ लगायत निजी क्षेत्रलाई प्रभावित गर्ने कानूनी व्यवस्थामा सुधारका लागि सशक्त पैरवी गरिएको उनले बताए । साथै, घरेलु पूँजी परिचालनमार्फत ठूला आयोजना अघि बढाउन सकिने आत्मविश्वास समेत जगाइएको उनको भनाइ छ ।
उनले आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा सरकारले स्वीकृत गरेको ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ लाई उल्लेख गरे । महासंघले तयार पारेको मस्यौदालाई सरकारले हुबहु स्वीकार गर्दै पहिलो मन्त्रिपरिषद् बैठकबाटै पारित गर्नु निजी क्षेत्रका लागि ऐतिहासिक मोड भएको उनको दाबी छ ।
ढकालले विगतमा माग सम्बोधन गराउन हड्ताल र बन्दसम्म गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले सरकार स्वयं निजी क्षेत्रका एजेन्डा अघि बढाउन सकारात्मक देखिएको बताए । यसले सरकार–निजी क्षेत्र सम्बन्धमा नयाँ आयाम थपेको उनको भनाइ छ ।
उनले आफू पदमा रहे पनि नरहे पनि निजी क्षेत्रको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए । रोजगारी सिर्जना, राजश्व वृद्धि, पूर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा नयाँ नेतृत्वसँग सहकार्य गर्ने उनको भनाइ थियो ।
यसैबीच, महासंघमा नयाँ नेतृत्व चयन भएको छ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । निर्वाचनमा उनको समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् भने वस्तुगत उपाध्यक्षतर्फ भने हेमराज ढकाल समूहले सफलता हात पारेको छ ।
वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ ६३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी शिव घिमिरेले ६० मत प्राप्त गरे । एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे १०७९ मत ल्याउँदै विजयी भए भने प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरिन् ।
एसोसिएट महिला सदस्यमा जुना माथेमा (११५६) र अभिज्ञा मल्ल (१०५९) निर्वाचित भए । यसैगरी, एसोसिएटतर्फका अधिकांश सदस्य पाण्डे समूहबाट निर्वाचित भएका छन् ।
जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा (८७ मत) र दिलसुन्दर श्रेष्ठ (८० मत) विजयी भएका छन् । महासंघका केही पदमा भने मतगणना अझै जारी रहेको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया