वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्‌मा असहमति

वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्‌मा असहमति


ग्लोब नेपाल
270
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्‌मा मतभेद देखिएको छ । वरिष्ठताक्रम मिचेर सिफारिस गरिएको भन्दै परिषद्का दुई सदस्यले लिखित असहमति जनाएका छन् ।

बैठकमा प्रधानमन्त्री शाहले क्षमता र योग्यताको आधारमा शर्मालाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर उक्त प्रस्तावले परम्परागत वरिष्ठताक्रम र नियुक्ति प्रक्रिया उल्लङ्घन गरेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले फरक मत राखेका हुन् ।

“प्रतिपक्षी र राष्ट्रिय सभाको अध्यक्षको रूपमा हाम्रो फरक मत रह्यो। विधि प्रक्रिया मिचेर हठात् प्रस्ताव आएकाले सहमति जनाउन सकिएन” राष्ट्रिय सभाका अध्यक्ष दाहालले भने । प्रधानमन्त्रीले भने न्याय सम्पादन मात्र नभई दक्षता र विज्ञताका आधारमा शर्मालाई उपयुक्त ठहर गर्दै नाम प्रस्ताव गरेका थिए ।

नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई नछोई रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना भएको बताइएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा डा. शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्मा अनुमोदन भएमा करिब ६ वर्ष कार्यकाल प्रधानन्यायाधीशका रूपमा रहनेछन् ।