नेविसंघ नेतृत्वका दाबेदारले काँग्रेस नेतृत्वसमक्ष राजनीतिक विवरण पेश गर्ने

नेविसंघ नेतृत्वका दाबेदारले काँग्रेस नेतृत्वसमक्ष राजनीतिक विवरण पेश गर्ने


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने क्रममा नेतृत्व आकांक्षीहरूले नेपाली काँग्रेस नेतृत्वसमक्ष आफ्नो राजनीतिक पृष्ठभूमि र गतिविधिसम्बन्धी विवरण पेश गर्ने भएका छन्।

पार्टीले पुनर्गठन गर्न लागेको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिमा नेतृत्वको दाबी गरेका विद्यार्थी नेताहरूले शुक्रबार काँग्रेस सभापति गगनकुमार थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउने कार्यक्रम तय गरिएको बताएका छन्।

नेतृत्वको दाबेदारमध्येका विद्यार्थी नेता विकल राईका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय पुगेर सभापति थापालाई व्यक्तिगत राजनीतिक विवरण तथा संगठनात्मक अनुभवसम्बन्धी जानकारी हस्तान्तरण गरिनेछ।

यसअघि नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गते बसेको बैठकले म्याद थपसम्बन्धी निर्णय नगरेपछि नेपाल विद्यार्थी संघसहित पाँच भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरू स्वतः निष्क्रिय बनेका थिए।

म्याद समाप्त भई स्वतः विघटनमा परेका संगठनहरूमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन्।

काँग्रेस कार्यसम्पादन समितिले अधिवेशन सम्पन्न हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक तयारी र समन्वय गर्ने जिम्मेवारी सभापति थापालाई दिएको छ।