एजेन्सी । अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले स्पेनिस पाँचौँ डिभिजनको क्लव ‘युई कोर्नेला’ खरिद गरेका छन् । ३८ वर्षीय मेसीको यस व्यावसायिक कदमले स्पेनिस फुटबल जगतमा नयाँ उत्साह पैदा गरेको छ ।
हाल अमेरिकी क्लव इन्टर मियामीबाट खेलिरहेका मेसीले क्लवको स्वामित्व ग्रहण गरेसँगै टोलीका सदस्यहरूलाई एक भिडियो सन्देश पठाउँदै आफ्नो प्रतिवद्धता व्यक्त गरे । क्याटालोनिया क्षेत्रमा हुर्किएका मेसीको पुनः सोही क्षेत्रको क्लवसँग जोडिनुलाई स्थानीय समर्थकहरूले विशेष चासो र स्वागतका साथ हेरेका छन् ।
क्लवका सदस्य तथा दर्शक पेड्रो जिमिनेजकाअनुसार १३ वर्षको उमेरमा बार्सिलोना आएका मेसीको यस क्षेत्रसँग गहिरो भावनात्मक सम्बन्ध रहेकाले उनले यस क्लबलाई नयाँ उचाईमा पु¥याउने विश्वास गरिएको छ ।
युई कोर्नेलाका स्रोतहरूले यो लगानी एक दीर्घकालीन परियोजनाको हिस्सा भएको र यसको मुख्य उद्देश्य क्लवको क्रमिक सुदृढीकरण गर्नु रहेको बताएका छन् । क्लव हाल चौथो डिभिजनमा बढुवा हुनका लागि प्ले–अफ खेलहरूमा प्रतिष्पर्धा गरिरहेको छ ।
फुटबल प्रशंसकहरूले तल्लो श्रेणीका लिगहरूमा मेसी जस्ता दिग्गज खेलाडीको लगानीले फुटबलको आर्थिक र संरचनात्मक विकासमा ठूलो टेवा पुग्ने बताएका छन् ।
युई कोर्नेला युवा प्रतिभा उत्पादनका लागि परिचित क्लव हो । यसै क्लवबाट जोर्डी अल्बा, डेभिड राया, जेरार्ड मार्टिन र जाभी पुआडो जस्ता स्थापित खेलाडीहरूले आफ्नो प्रारम्भिक फुटबल यात्रा शुरु गरेका थिए ।
मेसीको स्वामित्वसँगै क्लवको प्रतिभा पहिचान गर्ने क्षमता र ख्याति अझ बढ्ने र यहाँबाट उत्पादित खेलाडीहरू बार्सिलोना, एस्पान्योल वा जिरोना जस्ता ठूला क्लवसम्म पुग्न सहज हुने अपेक्षा समर्थकहरूले राखेका छन् ।


प्रतिक्रिया