केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्योः पूर्णबहादुर खड्का

केन्द्रीय सदस्य मनोनयनले पार्टी एकताको उद्देश्यमा ठेस पुग्योः पूर्णबहादुर खड्का


ग्लोब नेपाल
351
Shares

काठमाडौं । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति असन्तुष्टि व्यक्त गरेका छन । विशेष महाधिवेशनबाट गठित कार्यसमितिको विस्तारका क्रममा वैशाख २८ गते गरिएको निर्णयले पार्टीको बृहत्तर र सम्पूर्ण एकता गर्ने उद्देश्यमा ठेस पुर्‍याएको उनले बताए ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले मनोनयनको विषयमा आफूसँग कुनै छलफल वा परामर्श नभएको र यसबारे आफूलाई जानकारी समेत नरहेको समेत बताएका छन । उनले मुलुकको राष्ट्रियता इतिहासकै जोखिमपूर्ण अवस्थामा रहेको र लोकतन्त्रका आधार स्तम्भमाथि निरन्तर आक्रमण भइरहेको बेला पार्टी विभाजित हुनु घातक हुने समेत बताएका छन ।

केही समयअघि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको सामूहिक भेटमा आफूले पार्टीलाई पूर्ण रूपमा एक बनाउने अभियानमा लाग्न अनुरोध गरेको उनले स्मरण समेत गरेका छन । खड्काका अनुसार पार्टीको बृहत् र सम्पूर्ण एकता नभई राष्ट्रिय राजनीतिमा प्रभावकारी र सार्थक भूमिका खेल्न सम्भव छैन ।

उनले भने, ‘२८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नु पर्ने उद्देश्यमा ठेस पुग्न गएको छ। पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः गगनजीको र दोस्रोमा विश्वजीको हातमा छ, त्यसमा हामी अरूको सहयोगी भूमिका हुन्छ ।’

उनले विगतमा विभाजित कांग्रेसले ठुलो हण्डर खानु परेको र नागरिकको भरोसा गुमेको कुराबाट पाठ सिक्दै शीर्ष नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने समेत बताएका छन । गत फागुन २१ गते सम्पन्न आम निर्वाचनको परिणामले कांग्रेसलाई ठुलो क्षति पुर्‍याएको भन्दै उनले नयाँ सोच र साझा भावधारासहित अगाडि बढ्न प्रेरणा लिनुपर्ने पनि बताएका छन ।

अहिलेको समयमा व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर भावनात्मक एकता कायम गर्नुको विकल्प नरहेको समेत उनले बताए । निर्णायक भूमिकामा रहेका साथीहरूले अझै पनि सामूहिक भावना र साझा विचारका साथ पार्टीलाई एकताबद्ध बनाउने दिशामा अग्रसर हुने विश्वास उनले व्यक्त गरेका छन्।