प्रधानमन्त्रीको अनुपस्थितिप्रति काँग्रेसको आपत्ति, सभामुखसँग रुलिङको माग

प्रधानमन्त्रीको अनुपस्थितिप्रति काँग्रेसको आपत्ति, सभामुखसँग रुलिङको माग


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै सभामुखमार्फत उपस्थित गराउन रुलिङ गर्न माग गरेको छ।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेस सांसद निष्कल राईले संसद्को गरिमा कायम राख्न सभामुखले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री स्वयं सदनमा उपस्थित हुनुपर्ने धारणा राखे।

राईले नीति तथा कार्यक्रमसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री बैठकमा अनुपस्थित रहेको उल्लेख गरे। यसअघि पनि प्रधानमन्त्रीको उपस्थितिको विषय उठाइएको स्मरण गराउँदै उनले संसद्‌मार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औँल्याए।

उनले प्रतिनिधि सभाको प्रभावकारिता र मर्यादा जोगाउन सभामुखले आवश्यक रुलिङ गरी प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन पहल गर्नुपर्ने बताएका छन्।