काँग्रेसभित्र सहमति र एकतामार्फत १५औँ महाधिवेशन अघि बढाउनुपर्नेमा जोड

काँग्रेसभित्र सहमति र एकतामार्फत १५औँ महाधिवेशन अघि बढाउनुपर्नेमा जोड


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई वर्तमान परिस्थितिमा थप जिम्मेवार, एकताबद्ध र संस्थागत प्रक्रियामार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

काठमाडौँमा आयोजित शेरबहादुर देउवा पक्षीय बागमती प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै उनले मुलुकको लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र राजनीतिक प्रणालीप्रति नै प्रश्न उठ्न सक्ने अवस्था देखिन थालेकाले राजनीतिक दलहरूको भूमिका अझै संवेदनशील र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले पार्टीभित्र देखिएको असहज परिस्थितिलाई सम्बोधन गर्न बृहत् सहमति र संगठनात्मक एकताको मार्ग अपनाउनु अपरिहार्य रहेको उल्लेख गरे । आगामी १५औँ महाधिवेशनलाई पनि सहमतिमूलक संयन्त्रमार्फत सम्मानजनक ढंगले सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

महतले क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विषयमा समेत टिप्पणी गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले यसबारे आवश्यक निर्णय गरिसकेको अवस्थामा पुनः नवीकरण प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने बताए ।

साथै, पार्टी विधानलाई मनोमानी ढंगले प्रयोग गर्न नहुने स्पष्ट पार्दै उनले यससम्बन्धी निर्णयहरू महासमिति वा महाधिवेशनजस्ता वैधानिक मञ्चमार्फत मात्र निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।

उनले विशेष महाधिवेशन वा विशेष संरचनाबाट नेतृत्वमा पुगेपछि भ्रातृ तथा शुभेच्छुक संगठनहरूमा एकतर्फी तथा स्वेच्छाचारी निर्णय लिने प्रवृत्ति देखिन थालेको भन्दै त्यसप्रति समेत ध्यानाकर्षण गराए ।