दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर

दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आज मालपोत कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।

जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नायव सुब्बा खाम्चाले जीर्ण श्रेष्ता कायम गरी अपुताली जग्गा नामसारी समेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरी मोलमोलाई गरी दुई लाख रुपैयाँ लिएको पुष्टि भएको आयोगले जनाएको छ । निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।