काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता प्रक्रिया आजबाट सुरु गरिएको छ । पहिलो दिन ३७८ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता प्राप्त गरेका छन् । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम चरणबद्ध रूपमा फिर्ता गर्ने तयारीअनुसार आजबाट रकम वितरण प्रक्रिया सुरु गरेको हो ।
समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश: बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् । ५ लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र ५ लाखभन्दा बढी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये ५ लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।


प्रतिक्रिया